नेपाल आउने विदेशी नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा गरीने निर्णय

फोटो स्रोत:नेपाल पर्यटन बोर्ड

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले नेपाल आउने विदेशी नागरिकलाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य बिमा बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ नीति सार्वजनिक गरेका छन्। उनले सबै जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य रूपमा आबद्ध गरिने जानकारी दिए।

कार्यकारी निर्देशक काफ्लेले भने, “सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, सांगठनिक संस्थामा कार्यरत व्यक्तिहरू, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आबद्ध गरिनेछ। यसबाट युनिभर्सल हेल्थ कभरेजको सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्नेछ।”

यो कदम स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम घटाउनको लागि महत्त्वपूर्ण मानिएको छ। उनले भने, “स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम कम गर्नका लागि यो उपाय सहायक हुने विश्वास छ।”

स्वास्थ्य बिमा कार्यक्रमका विभिन्न पहललाई एकीकृत गर्दै सबै स्वास्थ्य बिमा सेवाहरूलाई बोर्ड मातहत ल्याइने कुरा पनि काफ्लेले बताए। प्रदेश सरकार र स्थानीय तहका स्तरमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग र अनुदान दिइरहेको छ, र यी सबै कार्यक्रमलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइनेछ।

बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच यस प्रक्रिया र स्वास्थ्य अनुदान सेवाहरूको एकीकरणका लागि छलफल अगाडि बढाइसकिएको छ।

तपाईको प्रतिक्रिया