नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घट्दै २,७०६.०४ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ०.६१ प्रतिशतको गिरावट हो।

लगातार तीन दिनको वृद्धिपछि नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट आएको हो। सो दिन ५३ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिए पनि १९२ कम्पनीका सेयर घटेका छन्। एक कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार ७४ हजार ४५ पटकको कारोबारमा २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ रहेको छ, जुन बिहीबारको तुलनामा घटेको हो। बिहीबारको कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ थियो।

१३ वटा उपसमूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेपछि समग्र बजारमा दबाव देखिएको हो।

तपाईको प्रतिक्रिया