नेप्से र कारोबार रकममा उच्च वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक र कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ।

नेप्से परिसूचक ७५.२४ अंक (२.६७ प्रतिशत) ले बढेर २,८९०.२४ विन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेको छ।

यस दिन ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ, जसको कुल कारोबार रकम १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

आज म्युचुअल फन्डको सूचक १.२७ प्रतिशतले घटेको भए पनि अन्य सबै १२ समूहको सूचक बढेको छ। वित्त, होटेल र पर्यटन, जीवन बिमा, र उत्पादन तथा प्रशोधन समूहले ४ प्रतिशतभन्दा बढी वृद्धि देखाए। निर्जीवन बिमा, लगानी र विकास बैंक समूह पनि तीन प्रतिशतभन्दा धेरै वृद्धि भएको छ। अन्य समूहहरूको सूचकमा पनि एक प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

सर्वाधिक नाफा कमाएका र घाटा हुने कम्पनीहरू

बजारको वृद्धि संगै हिमालयन डिस्टिलरी, गुराँस माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ठूलो मुनाफा कमाएका छन्। यी कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर र पोखरा फाइनान्सका सेयर मूल्य नौ प्रतिशतभन्दा बढी बढेका छन्।

तर, समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच प्रतिशत र कुमारी सबल योजनाको सेयर मूल्य चार प्रतिशतभन्दा बढी घटेको छ। समग्रमा, १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ।

तपाईको प्रतिक्रिया