नेप्से ७.७५ अंकले घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौँ । देशको सेयर बजार परिसूचक नेप्से सोमबार ७.७५ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घट्दै नेप्से २,६९८.२८ विन्दुमा झरेको हो। आइतबार नेप्से १६.६८ अंकले घटेर २,७०६.०४ विन्दुमा बन्द भएको थियो।

सोमबारको कारोबारमा कुल ११२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १३३ कम्पनीका घटेका छन्। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

कुल ७८ हजार ६७८ पटकको कारोबारमा २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच भएका छन्। ती कारोबारबाट ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। आइतबार ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

१३ उपसमूहमध्ये बैंकिङ, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी उपसमूहको सूचकमा वृद्धि देखिएको छ।

तपाईको प्रतिक्रिया