न्युजिल्यान्ड फिफा विश्व कप २०२६ मा छनोट

काठमाडौं: आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्व कप २०२६ मा न्युजिल्यान्डले छनोट पाएको छ। ओसिनिया क्षेत्रको छनोट अन्तर्गत सोमबार न्यु कालिडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै न्युजिल्यान्डले तेस्रो पटक फुटबल विश्व कपमा स्थान पक्का गरेको हो।

न्युजिल्यान्डका लागि घरेलु मैदानमा माइकल बोक्जल, कोस्टा बार्बारोउसेस् र एजिला जस्टले गोल गर्दै जित दिलाए। २०१० पछि विश्वकपमा छनोट नहुन पुगेको न्युजिल्यान्डका लागि यो विशेष उपलब्धि बनेको छ।

न्युजिल्यान्डले यसअघि १९८२ र २०१० मा विश्व कपमा सहभागिता जनाएको थियो, र अब २०२६ मा तेस्रो पटक विश्व कप खेल्न सक्छ। यससँगै न्युजिल्यान्ड दोस्रो टोलीको रूपमा २०२६ को विश्व कपमा छनोट भएको छ। एसियाबाट जापानले पनि विश्व कप छनोट पूरा गरिसकेको छ।

यस विश्व कपमा आयोजक राष्ट्रका रूपमा अमेरिका, क्यानडा र मेक्सिको स्वतः सहभागी हुने छन्।

न्युजिल्यान्डसँग पराजित भएको न्यु कालिडोनियाको विश्व कपमा जान्ने सम्भावना भने अझै जीवित रहेको छ। त्यसका लागि उनीहरूले प्लेअफ खेल्नु पर्नेछ।

तपाईको प्रतिक्रिया