पाँचथर सामूहिक हत्या प्रकरणः हत्यामा संलग्न रहेको शङ्का गरिएका व्यक्ति मृत फेला

काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ ।  बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन। प्रदेश १ प्रहरी कार्यालयले पाँचथर हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीको विभिन्न विभागको टोली परिचालन गरेको जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाइबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया