पाँचौ राष्ट्रिय श्रमतथा रोजगार सम्मेलनः“आन्तरिक रोजगार प्रवद्धन दशक”घोषणा, कार्यान्वयन यसरी हुँदै…

राष्ट्रिय श्रम तथा रोजगारी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। यस सम्मेलनको सफलता र उपलब्धिहरू के रहे भन्ने कुरा १६ बुँदे घोषणापत्र जारी गर्दै स्पष्ट गरिएको छ। अब सरकारको आगामी कदम कस्ता हुनेछन् भन्ने विषयमा कुराकानी गर्न यस पटक Image Channel द्वारा प्रसारितकार्यक्रम Talk of the Town मा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी कार्यक्रमका अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

सरद सिंह भण्डारी, मन्त्री, श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री:
सम्मेलन पाँच वटा मुख्य थिममा सफलतापूर्वक सम्पन्न भएको थियो र ती थिमका आधारमा प्राथमिकताहरू तोकिएका छन्।

सबैभन्दा पहिलो कुरा, हाम्रो मुलुकमा एक वर्षमा कति श्रमशक्ति उपलब्ध छन् र ती श्रमशक्तिको स्थिति कस्तो छ? मुलुकमा रोजगारीका सम्भावनाहरू कति छन् र ती सम्भावनासँग मेल खाने श्रमशक्ति उपलब्ध छ कि छैन भन्ने कुरा विचार गर्न आवश्यक छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मागको आधारमा रोजगारी सिर्जना गर्नु हो। बजारले कस्तो प्रकारको श्रमशक्ति मागेको छ, त्यसका आधारमा श्रमशक्ति उत्पादन गर्नका लागि ज्ञान र सीपको महत्त्वको कुरा गरिएको छ।

दोस्रो कुरा, सीपयुक्त श्रमशक्ति तयार गर्नका लागि हामीसँग रहेका सम्भावनाहरूमा काम भइरहेको छ। उदाहरणस्वरूप, सुनचादी उद्योगसँग MOU गरी काम सुरु गरिएको छ। यस क्षेत्रमा लगभग ६ लाख ज्यानशक्ति काम गरिरहेका छन्, तर तीमध्ये ९० प्रतिशत स्किल्ड म्यानपावर बाहिरबाट आएका छन्। नेपालमा रहेका आफ्ना श्रमिकहरूको सङ्ख्या भने पर्याप्त छैन। यस क्षेत्रमा विभिन्न अवसरहरू रहेका छन्, जस्तै निर्माण, गार्मेन्ट, अटोमोबाइल्स क्षेत्रहरूमा, र नेपालमा यसका लागि दक्ष श्रमशक्ति तयार गर्न आवश्यक छ।

कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भए तापनि यस क्षेत्रको उत्पादकत्व र उद्यमशीलता वृद्धि गर्नुपर्ने आवश्यकता छ। हामीले परम्परागत कृषि प्रणालीलाई कायम राख्दै आएका छौं, जसमा धेरै अनौपचारिक श्रमिकहरू काम गरिरहेका छन्। यसलाई सीपको अभाव देखिन्छ, र यसका लागि आवश्यक तालिम र सीप विकासमा जोड दिनुपर्नेछ।

पर्यटन क्षेत्रको ठूलो सम्भावना छ, तर यस क्षेत्रमा आवश्यक मानवशक्ति उपलब्ध छैन। अहिलेको प्रविधि र उद्योगको अवस्थासमेत ध्यानमा राख्दै, नेपालले यस क्षेत्रमा थप अवसरहरू सिर्जना गर्नुपर्नेछ।

नेपाल सरकारको मुख्य उद्देश्य भनेको रोजगारका अवसरहरू सिर्जना गर्नु र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनु हो। १६ बुँदे घोषणापत्र जारी गर्दै सरकारले श्रमशक्ति उत्पादन र रोजगारीका अवसरहरूको सृजनामा कार्य सुरु गरेको छ। यसमा सरकारले श्रमशक्ति तयार गर्नका लागि तालिम केन्द्रहरूको स्थापना गर्ने र श्रम बजारको मागअनुसार ज्यानशक्ति निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।

नेपालमा बेरोजगारी दर अहिले ११ प्रतिशतभन्दा माथि रहेको र गरिबी रेखा मुनि रहेका व्यक्तिहरूको सङ्ख्या २० प्रतिशत रहेको तथ्यांक छन्। १६ बुँदे योजनाले बेरोजगारी दरलाई ५ प्रतिशतसम्म घटाउने लक्ष्य राखेको छ। यसका लागि सरकार सामाजिक सुरक्षा कोषमा योगदान बढाउँदै, औपचारिक र अनौपचारिक श्रमिकहरूको भलाइको सुनिश्चितता गर्ने कार्यमा निरन्तर जुटेको छ।

यसरी, श्रम र रोजगारीको भविष्यलाई सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ र यसका लागि कानूनी र नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको छ। सरकार तीन तहका सरकारसँग मिलेर श्रमशक्ति उत्पादन र रोजगारीका अवसरहरूको निर्माणमा सक्रिय छ ।

समग्रमा, नेपाल सरकार आगामी दश वर्षमा श्रमिकको सुरक्षित भविष्य निर्माण गर्दै, नेपाली श्रमशक्ति बाह्य रोजगारबाट फर्केर आफ्नो देशमा योगदान पुर्याउन सक्ने वातावरण निर्माण गर्ने प्रयासमा अग्रसर रहेको छ।

(उहाँसँग भएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्)

तपाईको प्रतिक्रिया