पारा एथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ, भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारत जान लागेको छ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रममार्फत बिदाइ गर्नुभयो। यो प्रतियोगिता मार्च ७ देखि १४ तारिखसम्म हुने छ, जहाँ ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल, तथा डिस्कस थ्रोमा राजु गुरुङ सहभागिता जनाउनुहुनेछ। गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नुहुनेछ। महिला खेलाडी प्रभा आङदेम्बेले २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिनुहुनेछ।

अफिसियलहरूमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापक ओमनाथ सिवाकोटी, र प्रशिक्षक विमला रानामगर हुनुहुन्छ।

नेपालले एक महिनाको अन्तरालमा पारा एथलेटिक्समा दोस्रो पटक सहभागिता जनाउँदैछ। नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएको थियो।

खेलाडीहरूमा प्रभा र नवराज तथा प्रशिक्षक विमला यो टोलीमा पुनः समावेश भएका छन्। दुबईमा गरेको प्रदर्शनका आधारमा यी खेलाडीलाई फेरि चयन गरिएको हो।

तपाईको प्रतिक्रिया