पुनःस्थापना र पुनर्निर्माणमा मिडियाको भूमिका

२०८० कात्तिक १७ गतेको राति गएको विनाशकारी भूकम्पले जाजरकोटमा हजारौं मानिसको ज्यान लियो, कैयौँलाई घाइते बनायो र संरचनाहरू ध्वस्त गर्‍यो। यद्यपि, प्रारम्भिक उद्धार र राहत कार्यहरू प्रभावकारी भए पनि पुनर्निर्माणमा आशानुरूप प्रगति भएको छैन, र पीडितहरू अझै ठोस पुनर्निर्माणको प्रतीक्षामा छन्। जाजरकोट, रुकुम र कर्णालीका पत्रकारहरूले विपत्तिको क्षणदेखि नै घटनाहरूको रिपोर्टिङ र समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। टक अफ द टाउनू कार्यक्रममा सहभागी विभिन्न मिडिया र नागरिक समाजका प्रतिनिधिहरूले उद्धार, राहत, र पुनर्निर्माणमा मिडियाले खेलेको भूमिका र चुनौतीबारे आफ्ना अनुभवहरू साझेदारी गरे। रुकुम पश्चिमका गैरसरकारी संघ सङ्घका अध्यक्ष भीमराज ओलीले भूकम्पपछि पुनर्निर्माणका लागि स्थानीय निकायको मापदण्ड अभावले अझै घर निर्माण थाल्न नसकिएको बताए। उनले भने, “हामीले एउटा जाडो कसरी सहनुपर्‍यो, त्यो हाम्रो अनुभवमा छ, तर अझ अर्को जाडो बिना मापदण्ड पुनर्निर्माण सुरु गर्न सक्ने अवस्था छैन।

नेपाल पत्रकार महासङ्घ, रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले भूकम्पपछिको राहत र उद्धार कार्यमा मिडियाको योगदानबारे चर्चा गर्दै भने, “जब भूकम्पले जनजीवन तहसनहस बनायो, पत्रकारहरू पनि यसबाट अछुतो रहेनन्। हामीले प्रभावकारी समन्वय गर्दै घटनास्थलबाट सत्य जानकारी संकलन गर्‍यौं र प्रभावित परिवारहरूको उद्धारमा पनि जोड दियौं।”

जाजरकोटका पत्रकारहरूले मिडियामा आर्थिक सहयोगको कमीले पुनर्निर्माणको प्रयासमा असर परेको बताए। गोरखापत्र राष्ट्रिय दैनिकका पत्रकार राजु लामिछानेले भने, “हामी तीव्र र सही सूचना पुर्‍याउने जिम्मा लिएका छौं, तर स्रोतसाधनको अभावमा यो कार्य गर्न गाह्रो भएको छ।”

यस्तै, अर्का पत्रकार मेगराज खड्काले मिडियामा संस्थागत विकासको कमीले पत्रकारितालाई अझै कमजोर बनाएको बताए। रुकुमका पत्रकारहरूले वित्तीय सहयोगको व्यवस्था गर्न सरकार र विकास साझेदारसँग आग्रह गरेका छन्, ताकि मिडियाले दिगो भूमिका निर्वाह गर्न सकोस्।

संरचनागत सुधार र अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता

संयुक्त राष्ट्रसंघका परियोजना विश्लेषक आत्माराम न्यौपानेले विपद्‌मा  पीडितलाई सहयोग पुर्याउन (Do NO Harm) सिद्धान्तलाई अपनाउन सुझाव दिए। उनले आपतकालीन सञ्चारमा लैङ्गिक हिंसा र मानव बेचबिखनका मुद्दालाई प्राथमिकता दिन मिडियालाई आग्रह गरे। यसैगरी, लैङ्गिक र प्रजनन स्वास्थ्य, र हिंसा रोकथामसम्बन्धी जानकारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

संयुक्त राष्ट्रसंघकी सूचना अधिकारी सिम्रिका शर्माले स्थानीय पत्रकारहरूलाई प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउन राष्ट्रसंघ तयार रहेको बताउँदै भने, स्थानीय पत्रकारितालाई सुदृढ बनाउन र दिगो बनाउन संघसंस्थासँग सहकार्य गर्न हामी सधैं तयार छौं।”

भूकम्पपछिको अनुभवले दिएको पाठ र सुधारका सम्भावना

रुकुमका पत्रकारहरूले भूकम्पपछिको अनुभवले विपद्मा सूचना संकलन र प्रसारणको महत्त्वबारे नयाँ पाठ दिएको बताए। यस्तो चुनौतीपूर्ण समयमा मिडियाले पुनर्निर्माण, राहत र पुनःस्थापनामा सकारात्मक भूमिका निभाउँदै सरकारी निकाय र विकास साझेदारलाई थप सक्रिय बनाएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले संकटको समयमा मिडियाको भूमिकालाई अझ प्रभावकारी बनाउन संस्थागत सुधार, वित्तीय लगानी र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन्। मिडिया सुदृढीकरण र क्षमता विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चबाट सहयोगको अपेक्षा राखिएको छ, ताकि विपत्तिमा मिडिया थप सक्षम र प्रभावकारी बन्न सकोस्।

कार्यक्रमको पूरा भिडियो यहाँ उपलब्ध छ :

जाजरकोट भुकम्पः केही संचार संस्था अझै बन्द, केही कोठा र टहराबाट संचालन, सहयोगको पर्खाइमा पत्रकार।।। – YouTube

तपाईको प्रतिक्रिया