पुलिस यू–१८ च्याम्पियन

काठमाडौँ — अपेक्षाअनुसार नै पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्णायक साबित खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएर एक खेलअगाडि नै उपाधि हात पारेको हो । चर्च ब्वाइजलाई हराए पुलिसले उपाधि जित्ने निश्चित थियो ।

पुलिस टिममा आधा दर्जन जति उमेर समूहका राष्ट्रिय खेलाडी थिए । त्यसैले टोलीको उपाधिसम्मको यात्रा धेरै गाह्रो रहेन । अहिलेको जितपछि पुलिसको २१ खेलबाट ४८ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको एनआरटीभन्दा ७ अंक बढी हो । एनआरटी ४१ अंकमा दोस्रो र संकटा ३९ अंकमा तेस्रोमा छ ।

लिगका बाँकी खेलमा जस्तै नतिजा आएपछि अब कसैले पनि पुलिसलाई उछिन्न सक्ने छैन । खेलपछि पुलिसका प्रशिक्षक भोला सिलवाल स्वभाविक रूपमा खुसी रहे । उनले भने, ‘यो सबै खेलाडीको मिहिनेतले नै सम्भव भएको हो । हाम्रा खेलाडी अरूको तुलनामा केही अनुभवी पनि थिए । हामीले प्रतियोगिताकै लागि भनेर सुरुमै बन्द प्रशिक्षणमा राखेका थियौं । त्यसबाट पनि फाइदा भयो ।’

चर्च ब्वाइजविरुद्ध खेलको पहिलो मिनेटमै पुलिसले अग्रता लिएको थियो । यो गोल विक्रम गौतमको नाममा रह्यो । त्यसपछि खेलको ४८ औं मिनेटमा पुलिसका कप्तान सुवास बमले दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजका लागि निमा पाख्रिनले एक गोल फर्काए । पूरा प्रतियोगितामै सुवासको प्रदर्शन उच्च रह्यो ।

नेपाली फुटबलले भविष्यका लागि आस गर्न सक्ने खेलाडीका रूपमा मानिएका सुवासको प्रतिक्रिया रह्यो, ‘हाम्रा अधिकांश खेलाडी व्यक्तिगत रूपमै राम्रा छन् । तिनै खेलाडीको कप्तान भएर खेल्न पाउँदा गर्व हुने भयो नै । हामीले लिग किन जित्यौं भने हाम्रो टिम मानसिक रूपमा पनि उत्तिकै बलियो थियो ।’

फरवार्डका रूपमा पूरा प्रतियोगितामा छाएका सुवासले अहिलेसम्म २२ गोल गरिसकेका छन् । उनी नै उच्च गोलकर्ताको होडमा अगाडि छन् । उनको भनाइ थियो, ‘हाम्रो सुरुदेखि नै लिग जित्ने योजना थियो र त्यसैअनुसार खेल्यौं पनि ।’ कुल १२ टिमको सहभागिता रहेको युथ लिग डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया