पूर्वराजा ज्ञानेन्द्रलाई दिए धन्यवाद माधव नेपालले

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्र शाहको योगदानको कदर गर्दै उनलाई धन्यवाद दिएका छन्। उनले पूर्वराजा शाह, गिरिजाप्रसाद कोइराला र आफूसँगको सहमतिका आधारमा मात्र माओवादीले जनयुद्ध छोडेर मुख्यधारामा आएको बताएका छन्। आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यो कुरा प्रकट गरेका हुन्।

अध्यक्ष नेपालले भने, “तीनजना नेता बसेर सहमति गरेपछि मात्र माओवादी मिसिए। गिरिजाप्रसाद कोइराला, म र ज्ञानेन्द्र—यिनीहरू नै गणतन्त्र ल्याउने सहमतिमा जुटेका थियौँ।” उनले तत्कालीन राजा ज्ञानेन्द्रलाई धन्यवाद दिँदै भने, “राजा फर्काउने कुरा छैन र उहाँको इच्छा पनि होइन, बाहिरको हल्ला मात्र हो।”

नेपालले कागजमा सहमति गरेर सबै अधिकार जनतालाई सुम्पिएको बताउँदै, “२०६३ सालको वैशाख ११ गते हामीले सबै सहमति गरेका थियौँ,” भने। उनले पूर्वराजा शाहको सचिवको भनाइलाई ध्यानमा राख्दै मन शान्त भएको बताए।

पूर्वराजालाई राजनीतिक गतिविधिमा सक्रिय हुनको लागि चुनौती दिने क्रममा उनले भने, “यदि राजनीति गर्न चाहनुहुन्छ भने पार्टी खोली जनताको बीचमा जानुस्।” वंशीय शासनको आलोचना गर्दै भने, “जनताको छनोट भन्दा वंशको शासनले देशको भलो गर्न सक्दैन।”

अध्यक्ष नेपालले सरकारको आलोचना गर्दै आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै क्षतिपूर्ति मागेका छन्।

तपाईको प्रतिक्रिया