प्रचण्डलाई विश्वप्रकाशको आग्रह:सरकारले गरेका हरेक निर्णयमा संसदमा प्रधानमन्त्रीको जवाफ नमागौं

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतसम्म पुगिसकेको विषयलाई लिएर संसदमा अवरोध नगर्न आग्रह गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिहीबार संसद भवन पुगेका शर्माले सरकारका हरेक निर्णयमा प्रधानमन्त्रीको जवाफ माग्नु गलत हुने भन्दै यसले भविष्यमा नकारात्मक नजिर बसाल्ने चेतावनी दिए।

उनले भने, “कुलमानलाई हटाएको विषय गलत छ भने बोल्नुहोस्। तर सरकारका हरेक निर्णयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनु भनेको उल्टो नजिर बसाल्नु हो। यसले भविष्यका लागि सकारात्मक असर पार्नेछैन। सरकारले आफू अन्तर्गतको कसैलाई हटाउँदै गर्दा सो विषयमा प्रश्न उठाउनु ठिक हो, तर प्रधानमन्त्रीलाई जवाफ दिने विषयमा कम्तिमा प्रचण्डजस्ता प्रधानमन्त्रीहरूले यो कुरा उठाउनु हुँदैन भन्ने लागेको छ।”

कुलमान घिसिङको बर्खास्तीको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेपछि आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक बस्न सकेको छैन। बुधबार पनि संसद बैठक शुरू हुनेबित्तिकै विपक्षी दलहरूले कुलमानको विषयलाई लिएर अवरोध गरेका थिए, जसका कारण बैठक स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया