प्रचण्ड: “२०८४ सम्म प्रधानमन्त्री बन्दिनँ”

फाइल तस्बिर।

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई भ्रष्टाचारीलाई संरक्षण दिन र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्न बनेको आरोप लगाएका छन्। शुक्रबार (चैत ८) वीरगन्जमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

प्रचण्डका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार “नराम्रो काम गर्न बनेको” हो। उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई जोगाउने र बेथिति तथा अराजकता बढाउने काम गरिरहेको आरोप लगाए।

“राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने यही केपीजी सरकारको काम हो,” प्रचण्डले भने। उनले थपे, “कुलमानको विषयबाट यसलाई सजिलै बुझ्न सकिन्छ। लेखा समितिको सभापति माओवादीको अधिकार थियो, तर त्यो छैन। लेखा समितिको सभापतिलाई थुप्रै आरोप लागेको छ, र प्रधानमन्त्रीले त्यसलाई चोख्याउनको लागि आफ्नो सम्पूर्ण तागत लगाएका छन्।”

प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। उनले भने, “म २०८४ सम्म जनतासँगै रहनेछु।”

त्यस्तै, प्रचण्डले सरकारमा हुँदा आफूहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन सुरु गरेको र आर्थिक विकासका लागि गति दिने विषयमा जोड दिएको पनि बताए। उनले थपे, “हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध सशक्त आन्दोलन चलाएका थियौं।”

अन्त्यमा, प्रचण्डले आफू नेतृत्वको सरकारलाई भ्रष्टाचारीहरूले हटाएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया