प्रधानमन्त्रीको शिक्षकहरूलाई आग्रह : “वार्तामा बसौं, विद्यार्थीको भविष्य नबिगारौं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा सहभागी भई विद्यालय फर्कन आग्रह गरेका छन्। उनले राज्यले सम्भव हुने मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै विद्यार्थीको पठनपाठनमा असर नपार्न शिक्षकहरूलाई आग्रह गरे।

कीर्तिपुरमा आयोजित नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सरकारले दमन होइन, संवादलाई प्राथमिकता दिएको स्पष्ट पारे। उनले भने, “शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार छ, विद्यालय शिक्षा विधेयक हाल संसदीय प्रक्रियामा छ। यस्तो अवस्थामा सडक आन्दोलन गर्नुको साटो वार्ताबाट समाधान खोजौं।”

प्रधानमन्त्री ओलीले भर्ना अभियान चलिरहेको सन्दर्भमा विद्यालय फर्कनुपर्नेमा जोड दिए। “शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई हानि पुगेको छ,” उनले भने, “शिक्षकहरूकै हितका लागि पनि यो आन्दोलन उचित समय र तरिका होइन।”

प्रधानमन्त्रीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै भने, “५२ प्रतिशत विद्यार्थी एसईईमा अनुत्तीर्ण हुनु गम्भीर विषय हो। यसको समाधान गुणस्तरीय शिक्षाबाट मात्र सम्भव छ।”

एमाले अध्यक्षसमेत रहेका ओलीले प्राध्यापक समुदायलाई समाजमा देखा परेका उग्र, प्रतिगामी र अस्थिरतामूलक प्रवृत्तिविरुद्ध बौद्धिक रूपमा सक्रिय हुन आह्वान गरे। उनले भनाइमा जोड दिँदै भने, “लोकतन्त्र र तानाशाहीबीचको भेद छुट्याउन सक्ने प्राध्यापकहरू जस्तो सचेत वर्गले अहिलेको चुनौतीपूर्ण परिवेशमा मौन रहनु उपयुक्त हुँदैन।”

‘मिशन २०८४’ को उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र दक्ष जनशक्तिको विकासलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताए। “देशको समृद्धि जनशक्तिको योग्यतासँग गाँसिएको छ,” उनले भने, “त्यसैले शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने र गुणस्तरमा सुधार ल्याउने विषयमा हामी सबैले सोच्नुपर्छ।”

प्रधानमन्त्री ओलीले प्राध्यापक संगठनको योगदानको चर्चा गर्दै उच्च शिक्षामा आवश्यक सुधारका लागि निरन्तर भूमिका खेल्न आग्रह गरे।

तपाईको प्रतिक्रिया