प्रधानमन्त्री ओलीको स्पष्ट वक्तव्य: एसपीपी सम्झौता कुनै हालतमा हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने स्पष्ट पारेका छन्। सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अमेरिकासँग प्रस्तावित एसपीपी सम्झौतामा सहमति नदिने बताए। जहाजबाट ओर्लिने क्रममा मुलुकको आर्थिक समृद्धि र एसपीपीबारे सोधिएको प्रश्नमा उनले ठोस जवाफ दिएका हुन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एसपीपी सम्झौता हुने आशंका व्यक्त गरेका थिए। प्रचण्डले विगतमा ओलीले सैद्धान्तिक सहमति दिएको कारण अहिलेको सरकारले सम्झौता गर्नसक्ने बताउँदै एसपीपीलाई एमसीसीभन्दा गम्भीर सम्झौताका रूपमा चित्रण गरेका थिए।

तर, ओलीले मुलुकको आर्थिक समृद्धिमा काम भइरहेको उल्लेख गर्दै, एसपीपी सम्झौता नगर्ने आफ्नो अडान दोहोर्‍याए। उनले पत्रकारहरूसँग थप प्रतिक्रिया नदिने बताए र त्यहाँबाट होटल ह्यारिसनतर्फ प्रस्थान गरे।

ओलीको आगमनका कारण विराटनगर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो। उनलाई स्वागत गर्न २५ भन्दा बढी गाडीको लाम रहेको थियो। उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रमसँगै अपरान्ह काठमाडौं फर्किने तयारीमा छन्।

तपाईको प्रतिक्रिया