प्रधानमन्त्री ओलीको स्पष्ट भनाइ : सरकार परिवर्तनको हल्लामा नलाग्नुस्

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने हल्लाको पछाडि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन्।

शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा माओवादी केन्द्रका अध्यक्षले चितवनबाट दिएको ‘०८२ सालसँगै सरकार फेरिने’ अभिव्यक्तिको प्रतिवाद गरेका हुन्।

“यो सरकार स्थिर छ, देशमा स्थायित्व आउँछ,” प्रधानमन्त्री ओलीले भने, “नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना, बलिदानीपूर्ण इतिहास बोकेका ठूला दलहरू किन एक भए भन्ने प्रश्नको उत्तर यही हो — देशमा स्थायित्व र समृद्धिको आवश्यकता।”

प्रधानमन्त्री ओलीले अहिलेको सरकारकै नेतृत्वमा देशमा विकास र सुशासन सुनिश्चित हुने दाबी गर्दै जनतालाई हल्लामा नफसिकन आत्मविश्वासका साथ राष्ट्र निर्माणमा लाग्न आग्रह गरे।

चितवनको पर्यटन सम्भावनाको उल्लेख गर्दै प्रधानमन्त्रीले इच्छाकामनाले विशेष योगदान दिनसक्ने बताए। साथै, केन्द्र र प्रदेश दुवै सरकारले चितवनको समग्र विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

तपाईको प्रतिक्रिया