प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबले गण्डकीलाई पराजित गर्‍यो

घोराही (दाङ) — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो।

लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३०.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो। गण्डकीका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९, कमल परियारले १७ र कप्तान बिपिन खत्रीले १५ रन बनाए।

बलिङतर्फ आर्मीका शाहब आलमले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, कुशल मल्ल र नरेन साउदले दुई-दुई विकेट लिए।

११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ र इमरान शेखले १२ रनको योगदान दिए।

बलिङतर्फ, आर्मीका चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक-एक विकेट लिए।

यस जितसँगै आर्मीले ७ खेलमा ६ जित हासिल गर्दै १२ अंक जोडेको छ र अंक तालिकामा दोस्रो स्थानमा छ। अर्कोतर्फ, गण्डकी प्रदेशले ७ खेलमध्ये १ जित निकालेको छ र २ अंकका साथ तालिकाको पछिल्लो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया