प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस फाइनलमा भिड्ने

तिलोत्तमा — नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

रुपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

विभागीय डर्बीमा आर्मीको जितसँगै पुलिसको १८ खेलसम्मको अपराजित यात्रामा ब्रेक लागेको छ। लिग तालिकाको शीर्ष स्थानमा रहँदै पुलिस क्लब फाइनलमा पुगेको थियो। जितका लागि पुलिसले दिएको १४९ रनको सामान्य लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।

आर्मीको जितमा विवेक यादवले ४१ रनको योगदान गरे। उनले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३ र सन्तोष कार्कीले २२ रन बनाउँदा नरेन साउद शून्य रनमा आउट भए। कप्तान विनोद भण्डारी ३५ बलमा १३ रनमा नटआउट रहे। बलिङमा पुलिसका ललित राजवंशीले चार विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए।

त्यसअघि, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाएको थियो। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाएका थिए। उनले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गरे। आरिफ शेखले २२, गुल्शन झाले १७ र सागर ढकालले अविजित १६ रन जोड्दा अर्जुन साउद १३ रनमा पभेलियन फर्किए। करण केसी र दिलिप नाथ भने शून्य रनमा आउट भए।

आर्मीको जितमा शाहब आलमले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दै ३१ रन दिए। यससँगै आलमले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा १ सय विकेट पुरा गरेका छन्। उनले १० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि पुलिसका ललित राजवंशीले अघिल्लो खेलमा सो कीर्तिमान बनाएका थिए। यस्तै, पुलिसका नरेन साउदले ३ विकेट लिए।

अब शनिबार, भैरहवाको सिद्धार्थ रंगशालामा हुने फाइनलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया