फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ

काठमाडौँ — फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन्। उनलाई मानवताविरुद्ध अपराध गरेको आरोपमा फिलिपिन्स प्रहरीले मंगलबार पक्राउ गरेको हो।

अन्तर्राष्ट्रिय आपराधिक अदालत (ICC) ले दुतेर्तेविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

दुतेर्ते मनीला एयरपोर्टबाट पक्राउ परेका हुन्। हङकङबाट फर्किएका उनलाई एयरपोर्टमा नै पक्राउ गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

दुतेर्ते सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति हुँदा नशालु पदार्थविरुद्ध कडा कदम चालेका थिए, जसको परिणामस्वरूप हजारौं व्यक्तिहरूको मृत्यु भएको थियो।

यसअघि उनले आफूलाई पक्राउ गरेर जेल पठाइए पनि तयार रहेको बताएका थिए। फिलिपिन्समा मानवअधिकारका लागि कार्य गर्ने अन्तर्राष्ट्रिय संघले उनको गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेर उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया