बजेट सन्दर्भमा एमालेको औपचारिक सुझाव, ओलीले दिए सकारात्मक संकेत

काठमाडौं — नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमासम्बन्धी सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ। बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझावपत्र बुझाएका हुन्।

महासचिव पोखरेलका अनुसार ओली प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो चरणमा पनि यस्तै सुझाव दिइएको थियो। तर त्यसबेला नीति तथा कार्यक्रम तथा बजेट अघिल्लो सरकारबाट प्रस्तुत भइसकेको हुँदा ती सुझावहरू समावेश हुन नसकेको उनले उल्लेख गरे। अहिले उक्त सुझावलाई पुनः ताजगीकरण गरी हस्तान्तरण गरिएको पोखरेलले जानकारी गराए।

पोखरेलले अघिल्लो पटक पार्टीको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्राका आधारमा बनाइएका सुझाव अझै कार्यान्वयनमा आउन बाँकी रहेको पनि स्मरण गराए।

सुझाव ग्रहण गर्दै प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभागहरूसँगको समन्वयमा तयार गरिएको सुझाव नीति तथा कार्यक्रम तथा आगामी बजेट निर्माणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया