बारामा ३६७ किलो गाँजासहित पाँच जना पक्राउ

बारा — जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध लागुऔषध गाँजा बरामद गर्दै पाँचजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा एक भारतीय नागरिकसमेत छन्।

प्रहरीका अनुसार कुल ३६७ किलो १४० ग्राम अवैध गाँजा बरामद गरिएको छ। बरामद गरिएको गाँजा ओसारपसार तथा बिक्रीका लागि राखिएको अवस्थामा फेला परेको हो।

जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट बिहीबार मध्यरातमा ना.५ख २५०४ नम्बरको मिनी ट्रक जाँच गर्दा १९ वटा पोकामा लुकाइएको ३०५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको उक्त ट्रकसँगै गाँजाको ओसारपसारमा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा:

  • मकवानपुर जिल्ला कैलास गाउँपालिका–४ का ३२ वर्षीय ट्रक चालक राजन लामा,
  • सोही स्थानका २७ वर्षीय जीवन ठोकर
  • हेटौँडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन्।

यसैगरी, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बाराको प्रसौनी गाउँपालिका–४, खुटवास्थित एक घरबाट बिक्री वितरणको उद्देश्यले लुकाइराखिएको २ किलो १४० ग्राम गाँजासहित ३१ वर्षीय पवनकुमार साहलाई पक्राउ गरेको छ।

त्यसैगरी, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका–१, मुसहरीटोलस्थित मकैबारी हुँदै भारततर्फ लागुऔषध लैजाने सूचनाका आधारमा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

भारतको बिहार प्रान्त मोतीहारी जिल्ला, बिजवनी थाना अन्तर्गत जितना ग्राम रेगनियाका २५ वर्षीय राजबिहारी कुमारलाई टाउकोमा बोकेर गाँजा ओसारपसार गरिरहेको अवस्थामा ६० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल सबै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया