बार्सिलोनाले ओसासुना विरुद्ध सहज जितपछि शीर्ष स्थानमा अग्रता बनायो

काठमाडौँ: ओसासुना विरुद्ध सहज जित हासिल गरेपछि बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले आफ्नो टोलीले चाहेको नतिजा प्राप्त गर्नमा ध्यान केन्द्रित गरेको र त्यसबाट सन्तुष्टि व्यक्त गरेका छन्।

यसअघि बार्सिलोना र ओसासुनाबीचको खेल मार्च ८ मा खेलनुपर्ने थियो, तर बार्सिलोनाका चिकित्सक कार्ल्स मिनारो गार्सियाको मृत्युको कारणले उक्त खेल मार्च २७ मा सारिएको हो।

हालै सम्पन्न अन्तर्राष्ट्रिय फिफा विन्डोमा केही बार्सिलोनाका खेलाडी ओसासुनाविरुद्धको खेलमा अनुपस्थित थिए, तर प्रशिक्षक फ्लिकले भने कि टोलीले आफ्नो जितमा ध्यान केन्द्रित राखेर खेल खेल्यो।

फ्लिकले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “हामी अहिले उत्कृष्ट क्षणहरूलाई आत्मसात गर्दै छौँ र टोलीले अठोटका साथ अघि बढिरहेको छ, त्यसबाट म गौरवान्वित छु। अब हामीसँग १० खेल बाँकी छन् र हामी तीन अंकको अग्रतासहित शीर्ष स्थानमा छौँ। यो राम्रो छ र हामीले यही अठोटका साथ अघि बढ्नुपर्छ।”

ओसासुनाविरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्‍यो। बार्सिलोनाका लागि फेरान टोरेस, ड्यानी ओल्मो र रोबर्ट लेवान्डोवस्कीले गोल गरेका थिए।

बार्सिलोनाले गत डिसेम्बरदेखि अपराजित यात्रा कायम राखेको छ र बिहीबारको जितसँगै यो लयलाई १९ औं खेलसम्म लम्ब्याएको छ।

सन् २०२५ को युरोपको शीर्ष पाँच लिगमा बार्सिलोनाले अपराजित यात्रा गरेको एक मात्र टोली बनेको छ। बार्सिलोनाले २८ खेलबाट ६३ अंक हासिल गरेको छ, र रियाल मड्रिड ६० अंकसहित दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया