बिहान खाली पेटमा चिया पिउनाले हुने स्वास्थ्य समस्याहरू

काठमाडौँ – धेरै मानिसहरूको बिहानको परिपाटी नै हुन्छ, उठ्ने बित्तिकै चिया पिउने। धेरै जसो व्यक्तिहरूको बिहान चिया बिना शुरु हुँदैन। यद्यपि, चिकित्सकहरूले खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक भएको चेतावनी दिएका छन्। त्यसको बाबजुद, चियाको आदतलाई त्याग्न धेरैलाई गाह्रो पर्छ।

आज हामी त्यसको प्रभाव र स्वास्थ्यमा पर्न सक्ने केही समस्याबारे चर्चा गर्नेछौं।

एसिडिटी र ग्यास्ट्रिक समस्याहरू
खाली पेटमा चिया पिउँदा पेटमा एसिडको स्तर बढ्छ, जसले गर्दा एसिडिटी र ग्यास्ट्रिक समस्याहरू हुन सक्छ। चियामा रहेको क्याफिनले पेटको अम्लता बढाउँछ, जसबाट ग्यास्ट्रिक जलनको समस्या पनि निम्त्याउँछ।

पाचन प्रणालीमा असर
चियामा पाइने ट्यानिन नामक तत्वले खाली पेटमा पाचन प्रक्रिया बिगार्न सक्छ। यसले पेटको भित्तामा हानि पुर्याएर पाचनमा समस्या उत्पन्न गर्न सक्छ।

रगतमा चिनीको असंतुलन
खाली पेटमा चिया पिउँदा रगतमा चिनीको स्तर अचानक बढ्न वा घट्न सक्छ। यो मधुमेहका बिरामीहरूको लागि खतरनाक साबित हुन सक्छ।

हर्मोनल असंतुलन
क्याफिनले शरीरको हर्मोनल सन्तुलनमा बाधा पुर्याउन सक्छ, जुन विशेष गरी महिलामा बढी देखिन्छ। खाली पेटमा चिया पिउँदा महिनावारी समस्याहरू र थाइराइडको समस्या पनि बढ्न सक्छ।

पानीको कमी (डिहाइड्रेशन)
चियामा पाइने ड्युरेटिक गुणले शरीरबाट पानीको मात्रा घटाउँछ। खाली पेटमा चिया पिउँदा शरीरलाई डिहाइड्रेशनको समस्या निम्त्याउन सक्छ।

सासको गन्ध र दाँतको समस्या
खाली पेटमा चिया पिउँदा पेटमा एसिडको स्तर बढ्ने हुँदा मुखमा गन्ध आउन सक्छ, र दाँतमा प्लाक बन्ने समस्या पनि देखा पर्न सक्छ। यसले दाँतमा किरा लाग्ने र गिजाको समस्या उत्पन्न गर्न सक्छ।

निद्रा र मानसिक स्वास्थ्यमा प्रभाव
चिया पिउँदा शरीरमा क्याफिनको मात्रा बढ्ने हुँदा अनिद्रा, बेचैनी र मानसिक तनावको समस्या उत्पन्न हुन सक्छ। यसैले, बिहान खाली पेटमा चिया पिउनु राम्रो छैन।

अब के गर्नु?
बिहान उठेपछि, पहिलोपटक मनतातो पानी वा कागतीको पानी पिउनु राम्रो हुन्छ। यदि चिया पिउनै पर्छ भने, चियासँगै बिस्कुट वा ड्राई फ्रुट्स जस्ता हल्का खाद्य सामग्री पनि लिनुहोस्। हर्बल चिया वा हरियो चिया पेटको लागि विशेष रूपले फाइदाजनक हुन्छ।

यसैले, स्वस्थ रहने र दिनभरि ऊर्जा महसूस गर्नका लागि बिहानको शुरुवात स्वस्थ विकल्पहरूसँग गर्नुहोस्।

तपाईको प्रतिक्रिया