ब्राजिलियन लिजेन्ड रोबर्टो कार्लोस नेपाल आउने

काठमाडौं। ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आउन लागेको घोषणा गरेका छन्। शनिबार उनले एक भिडियो सन्देश मार्फत नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि आफ्नो नेपाल आगमनको जानकारी दिएका हुन्।

“नेपालमा खेलकुदको क्षेत्रमा भएको प्रगति अत्यन्त प्रशंसनीय छ। यो लिग नेपालमा फुटबलको भविष्यको लागि एक महत्वपूर्ण कदम हो। युवा खेलाडीहरूलाई म मेहनत जारी राख्न र उत्साहका साथ खेल्नको लागि प्रेरित गर्छु, किनकि तपाईंहरू भविष्यका नेता हुनुहुन्छ,” भिडियोमा उनले भनेका छन्।

आगामी सिजनका लागि उनले सबै टोली र समर्थकलाई शुभकामना व्यक्त गर्दै, “यो सिजन एक अविस्मरणीय हुनसक्छ। म नेपाल आइपुगेर यहाँको फुटबल उत्साह देख्न उत्साहित छु। चाँडै भेटौंला,” भनेका छन्।

रोबर्टो कार्लोसले सन् २००२ मा ब्राजिललाई फिफा विश्वकपको उपाधि जिताएका थिए। उनले तीनपटक विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका छन् र रियल मड्रिडबाट चारपटक ‘ला लिगा’को उपाधि जितेका छन्। साथै, उनले तीनपटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन्।

कार्लोसको नेपाल आगमन तीन महिनामा भएको दोस्रो ‘लेजेन्डरी भिजिट’ हुनेछ। यसअघि, ३ माघमा इटालियन लिजेन्ड जियान लुइजी बुफोन नेपाल आएका थिए, जसले केपी ओली कपको फाइनलका लागि नेपाल भ्रमण गरेका थिए।

तपाईको प्रतिक्रिया