भारतले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका नागरिक फिर्ता ल्याउन तयार

वासिङ्टन — भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकको “न्यायसंगत फिर्ती”का लागि भारत तयार रहेको बताएका छन्। बुधबार उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियासँगको भेटपछि पत्रकारहरूलाई जानकारी दिँदै भने, भारत अवैध रूपमा अमेरिकामा बसिरहेका आफ्ना नागरिकलाई फर्काउने प्रयासमा सधैं तयार रहेको छ।

उनले भने, “यदि हाम्रो नागरिकहरू यहाँ कानुनी रुपमा बसिरहेका छैनन् र उनीहरू भारतीय नागरिक हुन् भने हामी उनीहरूको न्यायपूर्ण फिर्तीका लागि सदैव तयार छौं।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्नका लागि कार्यकारी आदेश जारी गरेका छन्। पछिल्लो तथ्यांक अनुसार, भारत लगभग १८ हजार अवैध भारतीय नागरिकलाई अमेरिकाबाट फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग सहकार्य गर्दैछ, यद्यपि विदेशमन्त्री जयशंकरले यो संख्याबारे अझै निश्चित जानकारी नभएको बताएका छन्।

पिउ रिसर्च सेन्टरको अध्ययन अनुसार, अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजातविहीन भारतीय आप्रवासीहरू बसोबास गरिरहेका छन्, जुन मेक्सिको र एल साल्भाडोरपछि तेस्रो ठूलो संख्या हो।

तपाईको प्रतिक्रिया