भारत फलो अनबाट जोगिएसँगै टेस्ट बराबरीतर्फ

काठमाडौँ — भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन मंगलबार फलो अनबाट आफूलाई जोगाएको छ । चौथो दिनको खेल समाप्त हुँदा भारतले नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ । अब एक दिनको खेल मात्रै बाँकी छ र टेस्ट बराबरीतर्फ अग्रसर रहेको छ ।

ब्रिसबेनमा चलिरहेको टेस्टमा पाहुना टिमका लागि आकाश दीप २७ र जसप्रित बुमराह १० रन बनाएर खेलिरहेका छन् । खराव प्रकाशका कारण दिनको खेल चाँडै टुंगिन अगाडि भारत १ सय ९३ रनले पछाडि रहेको छ ।

वर्षाले प्रभावित टेस्टमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ४ सय ४५ रन बनाएको थियो । भारतले चार विकेट गुमाएर ५१ खेलबाट अगाडि खेल्न सुरु गरेको थियो । त्यसमा ओपनर केएल राहुलले सर्वाधिक ८४ रन बनाएका छन् ।

यस्तै रवीन्द्र जडेजाले ७७ रनको महत्त्वपूर्ण योगदान गरे । अस्ट्रेलियाली बलरमध्ये प्याट कमिन्सले ८० रनमा चार विकेट लिएका छन् । यस्तै मिचेल स्टार्कले ८३ रनमा तीन विकेट हात पारेका छन् । पाँच टेस्टको सिरिज १–१ को बराबरीमा रहेको छ ।

तपाईको प्रतिक्रिया