मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ४ सय ६० जना लागुऔषधसहित पक्राउ

मधेश प्रदेशमा पछिल्लो समय प्रतिबन्धित विभिन्न लागुऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। सिमावर्ती देश भारतका विभिन्न सहरसँग सिमाना जोडिएको मधेश प्रदेशका सबै जिल्लामा अवैध रुपमा लागुऔषधको कारोबार भईरहेकाले पक्राउ पर्नेको संख्या बढेको हो।

प्रहरीको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष ०८१/०८२ को ७ महिनामा ४ सय ६० जना विभिन्न प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन्। यस्तै, पक्राउ परेकामा ३ सय ३२ जनामाथि मुद्धा दर्ता भएको जानकारी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका वरिष्ठ प्रहरी उपरिक्षक शान्तिराज कोईरालाले दिएका छन्।

उनका अनुसार, मधेश प्रदेशमा लागुऔषध गाँजा, ब्राउनसुगर, चरेश, अफिम, हिरोइन, ट्याबलेट, बोतल र ईन्जेक्सनसहित पक्राउ परेका व्यक्तिहरू रहेका छन्। आठ जिल्ला रहेको मधेश प्रदेशमा मात्र ७ हजार ६ सय ११ किलो गाँजा बरामद भएको छ। जसमा सबैभन्दा बढी सप्तरी जिल्लाबाट २ हजार ९ सय ३ किलो र सबैभन्दा कम रौतहट जिल्लाबाट २७ किलो गाँजा बरामद भएको तथ्यांकमा उल्लेख गरिएको छ।

गत आर्थिक वर्ष ०८०/०८१ मा मात्र ११ सय ८ जना पक्राउ परेका थिए, र ८ हजार ५ सय ३९ किलो गाँजा बरामद गरिएको थियो। यस वर्षको तथ्यांक अनुसार, लागुऔषध चरेशको पनि समावेशीकरण भएको छ। चालु आर्थिक वर्ष ०८१/०८२ को ७ महिनामा १ सय ४१ किलो २७४ ग्राम चरेश पर्सा जिल्लाबाट बरामद भएको छ।

यसका अतिरिक्त, गत आर्थिक वर्ष ०८०/०८१ मा १ सय २२ किलो ४६६ ग्राम चरेश बरामद भएको थियो, जसमा बाराबाट ४५ किलो २३० ग्राम र पर्साबाट ७७ किलो १४४ ग्राम चरेश बरामद भएको थियो।

यसरी, लागुऔषध कारोबार र यसको नियन्त्रणमा मधेश प्रदेशमा कडा निगरानी र कार्यवाही आवश्यक देखिएको छ।

तपाईको प्रतिक्रिया