मन्त्री पाण्डेको चेतावनी :मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिनुभयो । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

यो विषयमा मन्त्री पाण्डेले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।

तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए ।

हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको जानकारी दिए ।

‘मैले टिकटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महंगोमा बेचिएको कुरा अयो, त्यो रोक्नुस् भनेका छौँ । त्यो प्याकेजमै होल्ड गर्ने प्रवृृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ’ मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए ।

भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्‍याउने भन्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए ।

‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारका तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजनाअन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्नेकुराको फलोअप गरिरहेको छु’ उनले भने ।

तपाईको प्रतिक्रिया