मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिचको भेटवार्ता

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरुबिचबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा, मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहित गर्न आग्रह गरे।

मन्त्री यादवले नेपालको विकासका प्राथमिक क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्न अपार सम्भावना रहेको बताउँदै जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे। उनले थपे, “नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइरहेको छ। हामी जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुकूल वातावरण बनाउन प्रतिबद्ध छौँ।”

मन्त्री यादवले नेपाल–जापान बीचको ऐतिहासिक मित्रता र कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले अझ बलियो र मैत्रीपूर्ण बनिरहेको उल्लेख गरे। उनले जापान सरकारले नेपालका खानेपानी परियोजनाहरूमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै, सन् १९७६ मा पाल्पाको तानसेन खानेपानी परियोजना, १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण र २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी दिए।

सो अवसरमा राजदूत तोरुले जापान सरकारले नेपालमा विगतदेखि विभिन्न विकास परियोजनाहरूमा सक्रिय रूपमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपाल र जापान बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ।”

तपाईको प्रतिक्रिया