माग पूरा नभएसम्म शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौं — विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन्। माइतीघर मण्डलाबाट जुलुससहित आएका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्रको सीमामा रोकेपछि उनीहरूले सडकमै बसेर धर्ना दिएका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलन अन्तर्गत, सहमति गरिएका विषयहरू तत्काल कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिएको छ। महासंघले यसअघि पनि सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन चर्काउँदै आएको छ।

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको प्रक्रिया प्रभावित भइरहेको छ। महासंघले संसद्को नियमित अधिवेशन डाकेर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ।

महासंघले हालै निर्णय गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा प्रक्रिया बहिष्कार गर्ने, साथै एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने जनाएको छ। उनीहरूले आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने स्पष्ट गरेका छन्।

तपाईको प्रतिक्रिया