मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारको एक वर्षे उपलब्धि

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी आफ्नो सरकारका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्।

२०८० चैत २७ गते नेकपा (माओवादी केन्द्र)को समर्थनमा बनेको सरकारको नेतृत्व लिएका कँडेलले सत्ता साझेदार फेरिए पनि अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनमा निरन्तरता दिएको बताए।

मुख्यमन्त्रीका अनुसार कानुन निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको छ। यो एक वर्षमा प्रदेश सरकारले स्थानीय सेवा ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, सवारी तथा यातायात व्यवस्था ऐन, विद्युत ऐन, दलित सशक्तीकरण ऐन, बिउबिजन ऐन, विनियोजन ऐन, आर्थिक ऐन, निजामति सेवा (पहिलो संशोधन) ऐनजस्ता कानुनहरू निर्माण गरिएका छन्।

साथै, कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, आगामी आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम, र मध्यमकालीन खर्च संरचना समेत तय गरिएको छ।

पूर्वाधारतर्फ प्रगति विवरण दिंदै उनले ९५ किलोमिटर सडक कालोपत्रे, २०५ किलोमिटर ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल र ८ वटा सार्वजनिक भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिए।

जनता आवास कार्यक्रमअन्तर्गत संघ सरकारबाट ६६१, प्रदेश सरकारबाट २३१ र विपन्न वर्गका लागि १५६ घर निर्माण सम्पन्न भएको उनले बताए। साथै, रणनीतिक महत्व भएका सडकजस्तै मूल पानी–रानी घाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार र शे–फोक्सोण्डो सडक निर्माण सुरु भएको उल्लेख गरे।

सवारी ऐन २०८१ लागू भइसकेको र भूकम्पबाट क्षति पुगेका भवनहरूको पुनर्निर्माण कार्य जाजरकोट, रुकुम पश्चिम र सल्यानमा सञ्चालनमा रहेको जानकारी गराइयो। प्रादेशिक सडक गुरु योजनाको मस्यौदा राय संकलनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।

मुख्यमन्त्री कँडेलले गैरजिम्मेवार ठेकेदारविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको, जथाभावी बजेट वितरण नियन्त्रणमा ल्याइएको, र उपभोक्ता समितिमार्फत हुने अनियमिततामा कडाइ गरिएको दाबी गरे।

सरकारका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट खर्च भइसकेको छ, र चैत मसान्तसम्म त्यो ३० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

उनले आफ्नो सरकार उत्तरदायी, परिणाममुखी र सुशासनप्रति प्रतिबद्ध रहेको बताउँदै, आगामी दिनहरूमा अझ प्रभावकारी र उपलब्धिमूलक काम हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया