मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक्ड भएको छ । यसअघि निर्वाचन आयोग र सुदूरपश्चिम सरकारको वेबसाइट ह्याक गरेको ‘क्याप्टेनस्मोकर’ ह्याकिङ समूहले नै महाशाखाको वेबसाइट नियन्त्रणमा लिएको छ ।   

आइतबारसम्म खुलिरहेको महाशाखाको वेबसाइट सोमबार बिहानै ह्याक्ड भएको थाहा पाएको जल तथा मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । ‘यो पूरानो भएकाले यसमा सुरक्षा प्रबन्ध अलि कमजोर भएकाले ह्याकरको पहुँचमा पुगेछ,’ उनले भने, ‘यसमा हाम्रा धेरै डेटाबेस थिएनन् किनभने हामीले नयाँ वेबसाइट बनाइरहेका छौं ।’

मौसमी गतिविधि राखिने वेबसाइटमा अहिले पानीमा झोक्राइरहेको ब्ल्याक एन्ड ह्वाइट जीफ देखिन्छ । यसमा हाकिङ समूह क्याप्टेनस्मोकरले सीप्यान, एसएमपीटी, डेटाबेसमा पहुँच कायम गरेको उल्लेख गरेको छ । समूहले टेलिग्राम च्यानलमा आवद्ध हुन भन्दै वेबसाइटमा हानिकारक लिंक राखेको छ ।

‘हाम्रो आईटी टिमले यसलाई हेरिरहेको छ,’ कायस्थले भने, ‘चाँडै रिकभर गर्ने प्रत्यनमा छौं । वेबसाइटको डेटाबेसको ब्याकप हामीसँग सुरक्षित छ ।’ उनले बेवसाइटमा दिइएको लिंक क्लिक नगर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया