म्यानचेस्टर सिटीको एफए कप सेमिफाइनलमा स्थान, उपाधि जित्ने आशा कायम

म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ र सन् २०२४/०२५ को सिजनमा कम्तीमा एउटा उपाधि जित्ने लक्ष्यलाई जिवित राखेको छ। आइतबार राति सिटीले एफए कपको क्वार्टरफाइनलमा बर्नमाउथलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सिटीका लागि यो जित सजिलो थिएन। खेलको सुरुवातमा सिटी एक गोलले पछाडि परेको थियो, तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले बर्नमाउथलाई हराउन सफल भए। बर्नमाउथको इभानिल्सनले अग्रता दिलाएपछि सिटीले ४९ औं र ६३ औं मिनेटमा गोल गरेर खेलमा फर्केको हो। एर्लिन हल्यान्ड र ओमार मारमोउसले गोल गरेका थिए।

सिटीको युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँगको पराजयपछि यो सिजनमा सिटीले एफए कप र प्रिमियर लिगको उपाधि जित्ने प्रयासलाई अझ बढी महत्त्व दिएको छ। यद्यपि, प्रिमियर लिगमा सिटी २२ अंकले लिभरपुलभन्दा पछाडि छ, जसले प्रिमियर लिग उपाधि जित्न सिटीका लागि चुनौतीपूर्ण बनाएको छ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीलाई आत्मविश्वास दिन्छन् र उपाधि जित्ने लक्ष्यसहित मैदानमा प्रस्तुत भएका छन्। उनले बर्नमाउथविरुद्धको खेलमा प्रमुख खेलाडीलाई मैदानमा उतार्दै आक्रामक रणनीति अपनाए। पहिलो हाफमा एक गोल पछाडि भए पनि, सिटीका खेलाडीले दोस्रो हाफमा समायोजन गर्दै बर्नमाउथको डिफेन्सलाई तोड्न सफल भए।

बर्नमाउथका प्रशिक्षक इओरालले भने, “सिटीसँगको खेल सधैं कठिन हुन्छ, आजको खेल पनि यस्तै थियो। दोस्रो हाफमा सिटीले फरक खेल प्रस्तुत गर्दा हामीलाई गाह्रो भएको हो।”

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, “पहिलो हाफमा एक गोलले पछाडि रहँदा हामी आत्तिएनौँ, मलाई बराबरी गोल फर्काउने विश्वास थियो। गोल फर्काएपछि बर्नमाउथको डिफेन्स कमजोर भयो र हामीले त्यसको फाइदा उठायौँ। अब, कम्तीमा हामी एउटा उपाधि जित्ने अभियानमा छौँ।”

तपाईको प्रतिक्रिया