याक संरक्षण सामूहिक जिम्मेवारी हो : कृषिमन्त्री अधिकारी

Photo Source: ICIMOD

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य तथा पोषण सुरक्षामा मात्र होइन, प्रांगारिक खेती र वातावरणीय सन्तुलनमा समेत महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन्।

प्रथम राष्ट्रिय याक दिवसका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले याकचौंरी पालनमा देखिएका विभिन्न चुनौतीहरूको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले भौगोलिक कठिनाइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जलवायु परिवर्तन, जंगली जनावरको आक्रमण, तथा युवा पुस्ताको बसाइसराईका कारण याकचौंरीको संख्या घट्दो क्रममा रहेको बताएका थिए।

“हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण हाम्रो साझा लक्ष्य हुनुपर्छ,” मन्त्री अधिकारीले भने, “हिमाली जनजीवनको अभिन्न अंग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नवजीवन दिनु हाम्रो साझा दायित्व हो।”

सरकारले कृषि मन्त्रालयको पहलमा प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’का रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै उनले सोलुखुम्बुको स्याङ्बोचेमा स्थापना गरिएको याक आनुवंशिक स्रोत केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधिको विस्तार र प्रवर्द्धनमा उल्लेखनीय कार्य सुरु गरिसकेको जानकारी दिए।

मन्त्री अधिकारीले आगामी दिनमा याकचौंरीको संरक्षण, प्रवर्द्धन र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया