युक्रेनविरूद्ध लड्न रूसले उत्तर कोरियाली जस्तै यमनी पनि गर्‍यो परिचालन

रूसले युक्रेनविरूद्ध यमनी लडाकू पनि परिचालन गरेको खुलेको छ।

रूसले फेब्रुअरी २०२२मा हमला गर्न जेलमा रहेका कैदीहरू समेत परिचालन गरेको थियो। अहिले उत्तर कोरियाली सैनिकसँगै यमनी लडाकूहरू पनि परिचालन गरेको खुलेको हो। 

युक्रेनले बहादुरीका साथ रूसको सामना गरेपछि आफ्ना सैनिक र कैदीले मात्रै नपुगेर नेपाल, भारतलगायत देशका युवालाई समेत युद्ध मैदानमा खटाएको थियो। पछिल्लो समय रूसका लागि लड्न उत्तर कोरियाले १०,००० भन्दा बढी सैनिक पठाएको छ।

त्यसबाहेक रूसले सयौं यमनका लडाकु समेत प्रयोग गरेको भनेर फाइनान्सियल टाइम्सले आइतबार लेखेको छ। केही यमनी युवासँग कुरा गरेको फाइनान्सियल टाइम्सले उनीहरूलाई धेरै तलब हुने काम दिने र भविष्यमा रूसी नागरिकताको समेत प्रलोभन दिएर ल्याइएको, र आउने बित्तिकै जबर्जस्ती सेनामा भर्ती गरेर लड्न पठाएको जनाएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गरेको जवाफमा गजामा हमला गरेको इसराइलका जहाजलाई रोक्न भनेर इरान-प्रायोजित यमनको हुथी समूहले रेड सीमामा विशेष गरी पश्चिमा जहाजमाथि लगातार प्रहार गरिरहेको छ। ती आक्रमणका लागि इरान र रूसले हतियार दिइरहेको छ। त्यति मात्रै नभएर जहाजबारे खुफिया जानकारी तथा निशाना लगाउन प्राविधिक सहयोग समेत रूसले दिइरहेको भनेर अमेरिका लगायत पश्चिमा राष्ट्रले आरोप लगाउँदै आइरहेको छन्।

त्यो सहयोगको बदलामा हुथी समूहले रूसका लागि लड्न यमनी युवा पठाएको मानिन्छ। उत्तर कोरियाले पनि तेल, खाद्य पदार्थ र आधुनिक हतियार प्रविधिका बदलामा सेना पठाएको हो।

हुथी समूहले आफ्ना लडाकु पठाएको भने पुष्टि भएको छैन। तर केही यमनीको करार सम्झौता हेरेको फाइनान्सियल टाइम्सले हुथी राजनितिज्ञ अब्दुलवाली अब्दो हसन अल-जबरीले ओमनमा दर्ता गरेको विदेश भ्रमणको प्याकेज, औषधि र चिकित्सा सम्बन्धी सामाग्री बेच्ने कम्पनीले उनीहरूलाई रूस लगेको लेखेको छ।

आफ्ना नागरिकको युद्धको क्रममा मृत्यु भए परिवारलाई क्षतिपूर्तिमा ठूलो रकम दिनु पर्ने भएकाले युद्धको अग्रपंक्तिमा नेपाली, भारतीय  लगायत अरू विदेशीलाई रूसले पठाउने गर्छ। उत्तर कोरियाली सैनिकको हकमा रूसले क्षतिपूर्ति बारे के कस्तो सम्झौता गरेको छ भन्ने अहिलेसम्म खुलेको छैन। तर युद्धका क्रममा मरेका नेपालीका परिवारलाई रूसले क्षतिपूर्ति दिएको छैन।

यमनी नागरिकलाई समेत नेपालीलाई जस्तै झुक्याएर युद्धमा पठाइएको हुँदा उनीहरूका परिवारलाई समेत रूसले क्षतिपुर्ति नदिने अनुमान गर्न सकिन्छ।

युक्रेन विरूद्ध लड्नका लागि रूसले उत्तर कोरियाली सैनिक परिचालन गर्न लागेपछि त्यसले रूस-युक्रेन युद्धमा नयाँ तरंग ल्याएको छ।

युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न तयारी गरिरहेका रूसी-उत्तर कोरियाली सैनिक र उनीहरूले प्रयोग गर्ने हतियारको भण्डारस्थल लगायत ठाउँमा लामो दुरीका हतियारले प्रहार गर्न अमेरिकाले युक्रेनलाई गत हप्ता नै अनुमति दिइसकेको छ। थप सैनिक पठाउनुअघि उत्तर कोरिया हच्कियोस् भनेर अमेरिकाले अनुमति दिएको मानिन्छ।

युक्रेनले मंगलबार अमेरिकाले दिएको हतियारले रूसले हतियार भण्डारण गरेको ठाउँमा प्रहार गरेको थियो। रूसले युक्रेनमाथि हमला गरेको १००० दिन पुगेको अवसर पारेर युक्रेनले उक्त प्रहार गरेको हो।
युक्रेनले आफ्नो भण्डारणमा प्रहार गरेपछि त्यही दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटायो।

त्यसको दुई दिन पछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले आणविक हतियार राख्न प्रयोग गर्न मिल्ने नयाँ मिसाइल युक्रेनमाथि प्रहार गर्‍यो।

बिहीबार युक्रेनको मध्य शहर डिनिप्रोमा रूसले नयाँ खालको मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाए। त्यसको केही बेरमै रूसले इन्टर-कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दाबी गरेका थिए।

आणविक हतियारका लागि प्रयोग गरिने लामो दुरीको आइसिबिएम रूसले छिमेकी युक्रेनमाथि प्रहार गरेपछि त्यसले व्यापक चर्चा पाएको थियो।

पश्चिमा अधिकारी र विश्लेषकले भने सो हतियार आइसिबिएम नभएको जिकिर गरेका थिए।

बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रहस्यमयी हतियार मध्यम दुरीको हाइपरसोनिक मिसाइल ओरेस्निक भएको खुलासा गरे। रूसी भाषामा ओरेस्निककको अर्थ कटुसको रूख हो।

युक्रेनले अमेरिकी अट्याक एम्स र बेलायती स्टोर्म सेडो मिसाइल रूसी भूमिभित्र प्रहार गरेको जबाफमा सो हतियार प्रयोग गरेको पुटिनले बताए। साथै सो मिसाइलले ध्वनिको गतिको १० गुणा भन्दा बढी गति (माक १०) हासिल गरेको र पश्चिमा मिसाइल डिफेन्स सिस्टमले त्यसलाई खसाल्न नसक्ने दावी गरे।

मध्यम दुरीको ब्यालेस्टिक मिसाइलले ३००० देखि ५५०० किलोमिटर टाढासम्म प्रहार गर्न मिल्छ भने अर्को महादेशसम्म प्रहार गर्न मिल्ने आइसिबिएमले ५५०० किलोमिटरभन्दा पर प्रहार गर्न सक्छ।

यी दुवै खाले मिसाइल प्राय: आणविक हतियार प्रहार गर्न प्रयोग गर्ने गरिन्छ। ती मिसाइल परीक्षणको बेला बाहेक युद्धमा खासै प्रयोग गरिँदैन। जमिनबाट प्रहार गर्न मिल्ने मध्यम दुरीका यी महँगा ब्यालेस्टिक मिसाइल रिसको झोंकमा इरानले भर्खरै इसराइलमाथि प्रहार गरेबाहेक अन्त कतै प्रहार नभएको द इकोनोमिष्टले लेखेको छ।

रूसले आणविक हतियार राखेर प्रहार गर्न मिल्ने किन्जाल लगायत अरू मिसाइल पहिल्यै युक्रेनमाथि प्रयोग गरेको छ। तर यो नयाँ मिसाइल अरू भन्दा फरक छ। यसमा धेरैवटा आणविक बम राख्न मिल्छ र जमिनमा खस्ने बेलामा ती छुट्टिएर बिस्फोट हुन्छन्। यस्ता खाले मिसाइल आणविक हतियारले प्रहार गर्नका लागि प्रयोग हुन्छ।

ओरेस्निक मिसाइल एकदमै तेज गतिको भएको र यसबाट धेरैवटा बम खसाल्न मिल्ने भएकाले यसलाई खसाल्न असम्भव प्राय भएको पश्चिमा विज्ञहरूले पनि स्विकारेका छन्।

बिहीबार युक्रेनमाथि प्रहार गर्दा रूसले ओरेस्निकमा कुनै पनि बम राखेको थिएन। तर आणविक नीति खुकुलो पारेको दुई दिनपछि युक्रेनलाई शक्तिशाली हतियार दिए त्यसमा आणविक हतियार राखेर प्रहार गर्ने भनेर पश्चिमा राष्ट्रलाई तर्साउन रूसले प्रष्ट रूपमा सन्देश दिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

तपाईको प्रतिक्रिया