यु–१९ विश्वकप छनोट : नेपाल–अफगानिस्तानबीचको खेलको टिकट मूल्य दुई सय रुपैयाँ

काठमाडौं — आगामी शनिबार हुने नेपाल र अफगानिस्तानबीचको यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलका लागि टिकट मूल्य दुई सय रुपैयाँ तोकिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले फाइनलसरहको यस महत्वपूर्ण खेलका लागि टिकट मूल्य दुई सय रुपैयाँ निर्धारण गरेको हो। टिकट IME Pay मार्फत किन्न सकिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली अहिलेसम्म अपराजित छन्। नेपालले युएई, हङकङ र ओमानलाई पराजित गरेको छ भने अफगानिस्तानले पनि ती नै टोलीमाथि विजय हात पारेको छ।

सन् २०२६ मा हुने यु–१९ विश्वकपका लागि छनोट प्रक्रिया अन्तर्गत लिग तालिकाको शीर्ष स्थानमा रहने एक मात्र टोलीले विश्वकपको यात्रा तय गर्नेछ। हाल अफगानिस्तान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल समान अंकका साथ नेट रनरेटमा दोस्रो स्थानमा छ।

त्यसैले शनिबारको खेल दुबै टोलीका लागि निर्णायक हुनेछ र खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यद्यपि, मौसमको कारणले खेल अवरुद्ध हुने सम्भावना रहेकाले अनिश्चितता पनि देखिएको छ।

यदि वर्षाका कारण खेल सम्पन्न हुन सकेन भने अंकतालिकामा शीर्ष स्थानमा रहेको अफगानिस्तानले यु–१९ विश्वकपमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया