यूईएफए च्याम्पियन्स लिग: पीएसजी सेमिफाइनलमा प्रवेश

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ।

इंग्लिस क्लब एस्टन भिल्लासँगको दुई लेगको समग्र नतिजामा ५–४ को जित निकाल्दै पीएसजीले सेमिफाइनल यात्रा तय गरेको हो। मंगलबार राति भिल्ला पार्कमा भएको दोस्रो लेगमा एस्टन भिल्लाले ३–२ को रोमाञ्चक जित हासिल गरे पनि समग्रमा पछि परेपछि प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको सुरुआतमै पाहुना टोली पीएसजीले आक्रामक प्रदर्शन गर्दै ११औँ मिनेटमा अकरफ हाकिमी र २७औँ मिनेटमा नुनो मेन्डिसका गोलमार्फत २–० को अग्रता लिएको थियो।

तर घरेलु टोली एस्टन भिल्लाले त्यसपछि शानदार पुनरागमन गर्दै खेललाई प्रतिस्पर्धात्मक बनायो। ३४औँ मिनेटमा योरी टेलेमान्स, ५५औँ मिनेटमा जोन म्याकगिन र त्यसको दुई मिनेटपछि एज्री कोन्साले गोल गर्दै दोस्रो लेगमा ३–२ को जित दिलाए।

यद्यपि, समग्र स्कोरमा ५–४ ले पछि परेपछि एस्टन भिल्लाको अभियान यही चरणमा टुंगिएको छ।

पीएसजीले अब सेमिफाइनलमा रियाल मड्रिड र आर्सनलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। ती दुई टोलीबीचको दोस्रो लेग आज राति सान्टियागो बर्नबेउ रंगशालामा हुनेछ।

तपाईको प्रतिक्रिया