यूके र क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं — आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई यूके र क्यानडामा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका–३ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–२९ बसोबास गर्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३० मा बस्ने २३ वर्षीय ईश्वर पोखरेल छन्।

प्रहरीका अनुसार, खड्काले यूके पठाइदिने भन्दै दुई जना व्यक्तिबाट ३६ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको उजुरी परेको थियो। यस्तै, पोखरेलले एक जनालाई क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएका थिए।

उक्त उजुरीको आधारमा प्रहरीले खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट र पोखरेललाई शुक्रबार काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया