रमजान र इदको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई आममाफी दियो

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी दिएको छ।

“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोध गर्दै उक्त आममाफी दिइएको परराष्ट्रले बताएको छ।

यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो। परराष्ट्र मन्त्रालयले कतारको आममाफीको निर्णयप्रति पनि आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया