रवि लामिछानेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको छ। यो मुद्दाको सुनुवाइ न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको छ।

जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि उच्च अदालतले सो आदेश उल्टाउँदै थुनामा पठाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै लामिछानेले सर्वोच्चमा पुनरावलोकनको माग गरेका हुन्।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको छ। गत माघ ६ गते रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै ४२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा करिब १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्ति माग गरिएको छ।

माघ १३ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले उक्त निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। लामिछानेले पनि उच्च अदालतमा आफूलाई थुनामा नराखी बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए।

तपाईको प्रतिक्रिया