राजावादी र समाजवादी मोर्चालाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।

प्रदर्शनका क्रममा दुवै पक्षबीच टकरावको अवस्था सिर्जना भएमा त्यसले शान्ति र सुरक्षा कायम राख्न चुनौती उत्पन्न गर्न सक्ने बारे आयोगले विज्ञप्ति जारी गरी चासो प्रकट गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्तिमा उपत्यकाका सुरक्षा व्यवस्थासम्बन्धी छलफल गरिएको उल्लेख गरे। काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिहरू सँग गरेको छलफलमा प्रदर्शनको दौरान शान्ति र सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजनाहरू तयार पारिएको पोखरेलले जानकारी दिए।

यसै क्रममा, आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्नका लागि मानव अधिकारका मान्यता सँग मेल खाने प्रबन्ध गर्ने निर्देशन दिएका थिए। पोखरेलका अनुसार, आयोगले भोलिका प्रदर्शनहरूको अनुगमनका लागि विभिन्न टोलीहरू खटाउने योजना बनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधानहरूको पालना गर्दै अरूको अधिकारमा कुनै बाधा नपार्न र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग अनुरोध गर्दछ। साथै, उत्पन्न हुने परिस्थितिको विश्लेषण गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्दै मानव अधिकारको सम्मान गर्न आयोग नेपाल सरकार र सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गर्दछ।

तपाईको प्रतिक्रिया