रास्वपाको प्रतिनिधिसभामा अवरोध, सभामुखको बस्न आदेश

काठमाडौँ — प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ। रास्वपाका सांसदहरूले आफ्ना मुद्दाहरू उठाउनका लागि समय मागेर बैठकको प्रारम्भमै अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई सभाको कारबाही अगाडि बढ्नको लागि बस्न आदेश दिएका थिए। यद्यपि रास्वपाका सांसदहरूले आकस्मिक समयमा आफ्नो विषय उठाउनुपर्ने भन्दै समय मागेका थिए।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुखसँग समय मागेका थिए भने, सांसद सोबिता गौतमले पनि आफूहरूले केही महत्वपूर्ण विषय उठाउन चाहेको बताउँदै समयको माग गरे।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, सभामुखसँग दोहोरो संवाद नगर्ने र समय उपलब्ध गराउन माग गरेका थिए।

सभामुख घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न आदेश दिँदै भने, “बस्नका लागि आदेश गर्दछु, बस्नुस्। यदि थप समय चाहियो भने दलीय आधारमा बोल्ने समय उपलब्ध गराइनेछ।” सभामुखले कार्यसूचीमा प्रवेश गर्ने प्रयास गर्दा रास्वपाका सांसदहरूले टेबुल बजाएर विरोध जनाए।

तपाईको प्रतिक्रिया