रास्वपाले २३ गतेदेखि ‘जनयात्रा’ सुरु गर्ने, महाधिवेशनको तयारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति र प्रदेश समितिलाई आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पेस गर्न निर्देशन दिएका छन्।

बैठकमा पार्टीको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को शुभारम्भ २०८१ सालको चैत्र २३ गते चितवनबाट गर्ने निर्णय गरिएको छ।

रास्वपाले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। यस कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सामेल छन्। साथै, पार्टीको जनयात्रा कार्यक्रमको संयोजन संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

सभापति रवि लामिछाने साढे ५ महिनापछि पार्टीको केन्द्रीय बैठकमा सहभागी भएका हुन्। बैठकमा उनले राज्यले राजनीतिक प्रतिशोध र यातना दिने तरिका र यसका पीडादायक अनुभवका बारेमा बताएका थिए। उनले पार्टीका सदस्य र शुभचिन्तकहरूले दिएको समर्थनको लागि आभार व्यक्त गर्दै, अहिलेको पार्टी संरचनामा सुधारका लागि आह्वान गरे।

सभापति लामिछानेले भने, “गणतन्त्र भनेको जनताको तन्त्र हो, र यसलाई सुधार्नका लागि हामी नेतृत्व लिनेछौँ।” उनले पार्टीका सदस्यहरूलाई सक्रिय रूपमा काम गर्न र आगामी १५ दिनभित्र लिखित योजनासहित प्रस्तुत गर्न आग्रह गरे।

बैठकमा गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयन गरिएको छ।

कार्यबाहक प्रवक्ता मनीष झाले बैठकमा प्रतिद्वन्द्वी दलहरूले रास्वपाविरुद्ध निषेधको राजनीति गरिरहेका कारण, अब पार्टीलाई सशक्त र एकजुट भएर अगाडि बढ्न आवश्यक भएको बताए।

तपाईको प्रतिक्रिया