रियलको हारमा एमबापे निराश

काठमाडौँ — रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ ।

एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । घरेलु लिगको यो हारले भने बार्सिलोनाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम रह्यो । बार्सिलोनाको १६ खेलबाट ३७ अंक छ । रियलको भने १५ खेलबाट ३३ अंक छ ।

एलेजान्ड्रो बेरेनगरले बिलबाओलाई सुरुआती अग्रता दिलाएयता एमबापे पेनाल्टीमा असफल रहे । त्यसपछि रियलका लागि जुड बेलिङघमले गोल गरे । बिलबाओका लागि सब्टिच्युट खेलाडी गोर्का गुरुजेटाले ८० औं मिनेटमा विजयी गोल गरे ।

हार र पेनाल्टीको असफलतापछि एमबापेमाथि थप दबाब सिर्जना भएको छ । खेलपछि प्रशिक्षक एन्सेलोटीले भने, ‘एमबापे स्वभाविक रूपमा दुःखी र निराश छन् । तर उनले आफ्नो खेलमा सुधार गर्नु बाहेक अर्को विकल्प छैन् ।’

रियल आएयता सबै खाले प्रतियोगितामा सुरुआती २० खेलमा १० गोल गरेका एमबापे त्यसपछि भने लयमा फर्कन संघर्षरत छन् । एन्सलोटीको भनेका छन्, ‘उनी अहिले आफ्नो स्वभाविक लयमा छैनन् । तर उनी उत्कृष्ट प्रदर्शन गर्न सक्षम खेलाडी हुन् ।’

तपाईको प्रतिक्रिया