रुपन्देहीको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,गोली प्रहार लगत्तै युवक फरार

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार गरिएको छ। प्रारम्भिक जानकारीअनुसार, बिहेको प्रस्ताव अस्वीकार गरेपछि ती युवतीमाथि गोली हानिएको हो।

पाल्पाको रैनादेवी छहरा स्थायी घर भई हाल बुद्धनगरमा बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार, आलम अन्सारी नाम गरेका व्यक्तिले एकतर्फी प्रेम गर्दै आएका थिए। टीकाले बिहेको प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित भई उनलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।

घटनापछि टीकालाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो। अवस्था जटिल भएपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा रिफर गरियो। कम्मरमा लागेको गोली झिक्न नसकिएकोले उनलाई थप उपचारका लागि चितवन लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

गोली प्रहार गर्ने व्यक्ति नेपाली हुन् वा भारतीय भन्ने विषयमा अझै पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।

टीकाले बुद्धनगरमा सञ्चालन गर्दै आएको खाजा पसलमै एक युवक आएर अन्डा चाउचाउ अर्डर गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार, केही समयपछि उनले रेडबुल मागे र त्यसपछि टीकामाथि गोली प्रहार गरेका थिए।

गोली प्रहार लगत्तै ती युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा फरार भएको जनाइएको छ। प्रत्यक्षदर्शीहरूले भनेअनुसार, ती युवक यसअघि पनि पसलमा बारम्बार आउने गर्थे।

घटनापछि टीका छिमेकीकहाँ चिच्याउँदै पुगेकी थिइन्। स्थानीयवासीका अनुसार, ती युवकले पहिले नै विवाह प्रस्ताव राखेका थिए, जुन टीकाले अस्वीकार गरेकी थिइन्।

प्रहरीले आरोपीको खोजी तीव्र पारेको जनाएको छ।

तपाईको प्रतिक्रिया