रोनाल्डो भन्छन्– पोर्चुगल दबाबमा छ

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कविरुद्ध मैदान उत्रिनुअघि आफ्नो टोली दबाबमा रहेको बताएका छन्।

कोपेनहेगनमा सम्पन्न खेलमा डेनमार्कका रास्मस होल्यान्डले निर्णायक गोल गर्दा घरेलु टिमले पोर्चुगललाई १–० ले हराएको थियो। तर, दोस्रो लेगमा मैदान उत्रिनुअघि रोनाल्डोले घरेलु मैदानमा समर्थकको साथले नतिजा उल्ट्याउन सक्ने आशा व्यक्त गरे।

“टोली दबाबमा छ। हामी अहिले चुनौतीपूर्ण अवस्थामा छौँ, कारण अब हामीलाई जित्नैपर्ने अवस्था आएको छ। फुटबलको सुन्दर पक्ष भनेको नै यही हो,” आइतबार उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने। “भोलि म समर्थकलाई समर्थन जनाउन आह्वान गर्न चाहन्छु। भोलि घरेलु रंगशालामा म मेरो शिर उच्च बनाएर जान चाहन्छु।”

पोर्चुगलले अन्तिम-८ को दोस्रो लेगमा आइतबार राति डेनमार्कलाई आफ्नै घरेलु मैदानमा आतिथ्यता दिने तालिका बनाएको छ। यो खेल नेपाली समयअनुसार आज राति १:३० बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया