लमजुङ दरबारको पुनर्निर्माण बजेट अभावका कारण अझै अधुरो

लमजुङ दरबारको पुनर्निर्माण कार्य बजेटको अभावका कारण अझै पूरा हुन सकेको छैन। १६औं शताब्दीमा बनेको यो दरबार समुद्री सतहबाट १,४४५ मिटर उचाइमा रहेको छ र शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ। तीन वर्षअघि पुरातत्त्व विभागले दरबारको पुनर्निर्माण कार्य सुरु गरेको थियो, तर आवश्यक बजेटको अभावले निर्माण प्रगति गर्न सकेको छैन।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार, दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि बजेट अभावका कारण काम रोकिएको हो। दरबारको पर्खाल, छाना, झ्यालढोकाका काम र अन्य संरचनात्मक कामहरू अझै बाँकी छन्।

आर्थिक वर्ष ०७९/८० मा १ करोड ३३ लाख रुपैयाँको बजेटबाट पुनर्निर्माण थालिएपनि, पछिल्लो आवमा मात्र ५० लाख बजेट उपलब्ध भएको थियो। पुरातन शैलीमा पुनर्निर्माण भइरहेको यस दरबारको संरचना तीनतले हुनेछ र कालिका मन्दिर प्यागोडा शैलीमा बनाइँदै छ।

स्थानीयवासी र व्यवस्थापन समितिका सदस्यहरूले निर्माण कार्यको ढिलाइको विषयमा चिन्ता व्यक्त गर्दै, काम पूरा गर्न सरकारसँग उचित बजेट उपलब्ध गराउन आग्रह गरेका छन्। लमजुङ दरबार शाहवंशीय राज्यको ऐतिहासिक धरोहर भएको र यसको पुनर्निर्माणमा सरकारको पूर्ण ध्यान दिनुपर्ने स्थानियहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया