ले पेनलाई आर्थिक हिनामिनामा दोषी ठहर, २०२७ को राष्ट्रपतीय चुनाव लड्न नपाउने

पेरिस — फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेशनल र्‍याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ।

यस निर्णयसँगै सन् २०२७ को राष्ट्रपतीय चुनावमा ले पेनको उम्मेदवारीको प्रयास असफल भएको छ। यसअघि उनले सन् २०१२, २०१७, र २०२२ मा फ्रान्सको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गरेकी थिइन्।

पेनलाई आरएन दललाई आर्थिक सहयोग पुर्याउन युरोपेली कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको हो। अदालतका अध्यक्ष बेनेडिक्टे डे पर्थुइसले पेनका कार्यहरूलाई ‘फ्रान्स र युरोपमा लोकतान्त्रिक जीवनका नियमहरूमाथि गम्भीर र स्थायी आक्रमणको रूपमा वर्णन गरेका छन्।

अदालतमा उपस्थित नभई पेन भने आफ्नो प्रतिबन्धको अवधि थाहा पाउन अघि नै अदालतबाट बाहिरिसकेकी थिइन्। अभियोजकहरूले पेनलाई २०२७ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न नदिन कम्तीमा पाँच वर्षको सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए।

तपाईको प्रतिक्रिया