वाग्मतीमा ७ सचिव रिक्त

मकवानपुर — नेता व्यवस्थापन र दलीय भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको वाग्मती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्नै सकेको छैन । १४ मन्त्रालय रहेको वाग्मती प्रदेशमा ७ सचिव पद रिक्त छन् भने चार सचिव दोहोरो जिम्मेवारीमा छन् ।

प्रदेश सरकारमा विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक काम प्रभावित भइरहेको छ ।

मन्त्रालयको कामकाज नै रोकिने स्थिति आएपछि प्रदेश मन्त्रिपरिषद् बैठकबाट चार सचिवलाई दोहोरो जिम्मेवारी तोकिएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी छ ।

प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारीमा छन् । सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहन गरिरहेका छन् । प्रदेश नीति तथा योजना आयोगका सचिव केशवराज सुवेदी पनि दोहोरो जिम्मेवारीमा छन् ।

उनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाको सरुवा भएको छ । कात्तिकमा आदिवासी आयोगमा सरुवा भएका निरौलालाई प्रदेश सरकारले रमाना दिएको छैन ।

दोहोरो जिम्मेवारीमा रहँदा दैनिक रूपमा काम गर्न असहज हुने गरेको सचिव दर्जीले बताए । ‘बिहान १२ बजेसम्म प्रदेशसभा र त्यसपछि आन्तरिक मामिला मन्त्रालयमा आएर काम गरिरहेको छु,’ उनले भने ।

संघ सरकारले जथाभावी सचिव तान्दा प्रदेशको कामकाजमै असर परेको भन्दै मुख्यमन्त्री बहादुरसिंह लामाले केन्द्रमा पत्रसमेत लेखेका थिए । ‘सचिव अभाव हुँदा मन्त्रालयको दैनिक काममा प्रभाव परिरहेको छ । यसले संघीयता कार्यान्वयनमा पनि समस्या सिर्जना गरिरहेको छ,’ वाग्मतीका जलस्रोत, खानेपानी तथा ऊर्जामन्त्री श्यामबहादुर खड्काले भने ।

मुख्यमन्त्री कार्यालयमै अहिले शासकीय सुधार तथा सुशासन महाशाखा र कानुन शाखामा सचिव छैनन् । मुख्यमन्त्री कार्यालयमा कानुन हेर्ने सचिव पद पनि रिक्त छ ।

तपाईको प्रतिक्रिया