विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा देशको विकासको गति अगाडि बढिरहेको र समयको परिवर्तनसँगै मुलुकले प्रगति गर्दै गएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकले समस्या भए पनि त्यसका समाधानका लागि सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले आफूले दिएको ‘डिजिटल नेपाल’को नाराले प्रविधि क्षेत्रमा ठूलो परिवर्तन ल्याएको पनि बताए।

“हामीले थुप्रै मेडिकल कलेज स्थापना गर्यौँ, र प्रत्येक पालिकामा आधारभूत स्वास्थ्य सेवाका लागि अस्पताल स्थापना गर्ने योजना अघि बढायौँ। केही बनिसकेका छन् भने कतिका निर्माण कार्यहरू जारी छन्। यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ। सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सक बन्ने सपना देख्दैछन्, केही अहिले विशेषज्ञ भएर सेवा दिनुहुन्छ, यो अहिलेको समयको ठूलो उपलब्धि हो।”

प्रधानमन्त्री ओलीले उद्यमशीलतामा आधारित रोजगारी सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्र उत्पादन र उत्पादकत्व वृद्धिको सम्भावना रहेको भन्दै त्यसमा जोड दिए। “हामी भावनात्मक ढङ्गमा चल्न सक्दैनौं, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन्। हामीले ती समस्याहरूलाई व्यवस्थित गरी अघि बढ्नु पर्छ,” उनले भने।

कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित करिब १४० युवाले सहभागीता जनाएका थिए। उनीहरूले आफ्नो-आफ्नो क्षेत्रका समस्याहरू प्रस्तुत गरेका थिए। प्रधानमन्त्री ओलीले युवाहरूलाई आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस प्रतिवेदन तयार गर्ने सुझाव दिए।

तपाईको प्रतिक्रिया